नेपालमा पहिलो पटक देखियो जे एन.१ : सात जनामा पुष्टि
काठमाडौं:नेपालमा पहिलो पटक कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ पुष्टि भएको छ । देशका विभिन्न भागबाट सङ्कलित १६ वटा पिसिआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरू मध्ये ७ वटा नमुनामा जे एन.१ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै विभिन्न ठाउँबाट संकलन भएको नमुनालाई पुस २२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वइन्सिङगर्दा ७ वटा नमुनामा नयाँ भेरिएन्ट पुष्टि भएको जानकारी दिएको छ ।
साथै छिमेकी देशहरूमा जे एन।१ बढ्दो रूपमा फैलिएकाले प्रवेश विन्दुमा स्क्रीनिङ र निगरानी बढाउन हेल्थ डेस्कहरू र स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ । यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई उपचार व्यवस्थापनको तयारीका लागि समेत मन्त्रालयले आग्रह गरेको छ ।
संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

Share on Twitter