नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
काठमाडौं:नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । शुक्रबार मूलपानी मैदानमा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए ।
त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए ।
त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । त्यो जितको लागि पर्याप्त थिएन ।
युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
Share on Twitter