नेदरल्यान्डविरूद्धको टी–२० खेलमा तीन पटक सुपर ओभर, अन्तिम सुपर ओभरमा नेपाल असफल
स्कटल्यान्ड । नेपाल र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल सुपर ओभरमा पराजित भएको छ। नेदरल्यान्ड्सविरूद्ध तीन पटक स्कोर बराबरी हुँदा तेस्रो पटक सुपर ओभर खेलेको नेपालले पराजय भोगेको हो।
पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले १ विकेटको क्षतिमा १९ रन बनायो। सुपर ओभरमा नेपालका लागि पहिलो बलमा कप्तान रोहित पौडेलले एक रन बनाउँदा कुशल भुर्तेलले त्यसपछि चौका, छक्का, दुई रन, छक्का र अन्तिम बलमा आउट भए।
सुपर ओभरमा जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका माइकल लेभिटले करण केसीविरूद्ध पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बल डट भयो। तेस्रो बलमा लेभिटले लेग बाइबाट एक रन लिए। चौथो बलमा म्याक्स ओुडाउडले दुई रन लिए। पाँचौ बलमा ओुडाउडले छक्का प्रहार गरे। अन्तिम बलमा चौका हुँदा नेदरल्यान्ड्सले पनि १९ रन बनाउँदा पहिलो सुपर ओभरमा पनि स्कोर बराबरी भयो भने खेल दोस्रो सुपर ओभरमा पुग्यो।
दोस्रो ओभर ओभरमा नेदरल्यान्ड्सका स्कट इडवार्डले नेपालका ललित राजवंशीलाई पहिलो बलमै छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा ओुडाउडले छक्का प्रहार गरे। त्यसपछि वाइड हुंँदा चौथो बलमा एक रन लिए। पाँचौ बलमा इडवार्डले दुई लिए भने अन्तिम बलमा भने उनी आउट हुँदा नेदरल्यान्ड्सले १७ रन जोड्यो।
दोस्रो सुपर ओभरमा नेपालका लागि कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सका केल क्लेइनविरूद्ध पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे। चौथो बल डट भयो। पाँचौ बल पनि डट भयो। अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गर्दा खेलमा फेरि पनि स्कोर बराबरी भयो भने तेस्रो सुपर ओभरमा पुग्यो।
तेस्रो सुपर ओभरको पहिलो बलमा भने नेपालका रोहित पौडेल क्याच भए। दोस्रो र तेस्रो बलमा ज्याच लायनविरूद्ध डेब्यू खेलाडी रूपेश सिंहले कुनै रन लिन सकेनन्। चौथो बलमा उनी आउट हुन पुगे। जसका कारण नेपालले तेस्रो सुपर ओभरमा कुनै रन जोड्न सकेन। किनकी दुई विकेट गएपछि सुपर ओभरमा ब्याटिङ गर्न पाइदैन।
जवाफमा नेदरल्यान्ड्सले एक रनको लक्ष्य पहिलो बलमै माइकल लेभिटले सन्दीप लामिछानेलाई छक्का प्रहार गरेर पूरा गर्यो।
त्यसअघि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेर १५२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले पनि १५२ रन नै जोड्दा स्कोर बराबरी भयो भने खेल सुपर ओभरमा पुग्यो।
Share on Twitter