एसियाड अन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल पराजित
काठमाडौं:चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको खेलमा भारतसंग २३ रनले पराजित भएको नेपाल प्रतियोगिताबाटै बाहिरीएको छ ।
यता भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए ।
कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे । भारतका अवि बिश्रोई र अषेश खानले समान ३, अर्शदीप सिंहले २ तथा साइ किशोरले १ विकेट हात पारेका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो । ओपनर यशस्वी जैसवालले शतक प्रहार गर्दा भारतले २०२ रन बनाएको थियो ।
जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मदतमा १०० रन बनाए । उनले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए । भारतले पावर प्लेमै विना क्षती ६३ रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले १०औं ओभरमा उक्त साझेदारी तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
दीपेन्द्रले भारतका कप्तान रुतुराज गाएकवार्डलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । गाएकवाडले २५ बल खेल्दै ४ चौका मदतमा २३ रन बनाए । त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औं ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाएका हुन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए ।
लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए । तर त्यसपछि शिवम दुवे र रिंकु सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए । रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए ।
रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए ।
Share on Twitter