एसिया कपमा नेपालको फराकिलो हार
काठमाडौं:एसिया कप क्रिकेटमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ । उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ ।
टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले २३.४ ओभरमा अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तीखार अहमदले शतक प्रहार गरे । आजमले एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । एक सय ३ एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सयभन्दा बढी बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।
पाकिस्तानकालागि अहमदले ७१ बल खेल्दै अविजित एक सय नौ रन बनाए । यस क्रममा अहमदले चार छक्का र ११ चौका प्रहार गरे । ३२ वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा यो पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतकसमेत प्रहार गरेका छन् । यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने र करण केसीले एक एक विकेट लिए । तीन सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका लागि शदाब खानले चार, शाहीन शाह अफ्रिदी र हरिश रउफले दुई दुई तथा नशिम शाह र मोहमद नवाजले एक एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ । नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो ।
Share on Twitter