देवेन्द्र र मुनाले छोराको जन्मदिन असहाय बालबालिकासँग मनाए
काठमाडौं; जन्मदिन भन्नेबित्तिकै धेरैको ध्यान पार्टी, रेष्टुरेन्ट, रमाइलो, घुमफिर, सेल्फी र सोशल मिडिया पोस्टतर्फ जान्छ। तर काठमाडौंका देवेन्द्र कार्की र राममाया (मुना) कार्कीले भने आफ्ना छोराको जन्मदिन मनाउने तरिका नै फरक रोजे– एकदमै विशेष, एकदमै मानवता–केन्द्रित।
उनीहरूले अष्ट्रेलियामा बस्दै आएका छोरा अभिषेक जंग कार्कीको जन्मदिन काठमाडौंको तारकेश्वर ८ मनमैजुमा रहेको नेपाल मानव सेवा संस्थामा गएर असहाय बालबालिकासँग मनाए। जहाँ अहिले २२ जना बालक र एक अशक्त महिला आश्रयमा छन्। शनिबार बिहानै देवेन्द्र र मुना कार्की संस्थामा पुगे। उनीहरूले बालबालिकालाई खाना खुवाए, समय बिताए, हाँसे, बोलाए– अनि आर्थिक सहयोगसमेत गरे।
त्यो दिन ती बालबालिकाको मुहारमा मुस्कान मात्र थिएन, एक किसिमको अपनत्व थियो । देवेन्द्र कार्की भन्छन्, ‘छोरा अहिले हाम्रो साथ छैन, तर यहाँ भएका हरेक बालबालिका हामीलाई आफ्नै छोराजस्तै लागे। हाम्रो खुशी उनीहरू सँग बाँड्न पाउँदा हामी धन्य अनुभूति गरिरहेका छौं। हुनेलाई त सबैले दिन्छन्, तर नहुनेको साथमा हुनु नै साँचो मानवता हो।’
बालबालिकासँग बिताएको केही घण्टा मुना कार्कीलाई निकै भावुक बनायो। उनी भन्छिन्, ‘यी नानीहरूलाई हेर्दा मन भरिन्छ। आमाबाबुबाट टाढा भएका बालबालिकालाई संस्थाले जुन माया र संरक्षा दिइरहेको छ, त्यो वास्तवमै पूण्य काम हो। म पनि आगामी दिनमा सकेको सहयोग गर्न तयार छु।’ नेपाल मानव सेवा संस्था, मनमैजुस्थित यो आश्रम अहिले २३ जना– २२ बालक र एक अशक्त महिलाको जीवनको आश्रय बनेको छ।
Share on Twitter