नेपालमा पहिलोपटक ‘हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन’
काठमाडौं: नेपालमा पहिलोपटक ’हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन’ हुँदै छ । नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा आज देखी सम्मेलन सुर हुन लागेको हो । भोली सम्म चल्ने सम्मेलनमा नेपालसहित ११ देशका विज्ञहरूले प्रस्तुति दिने नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. राजु पौडेलले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने यस सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ अन्तर्राष्ट्रिय र ३२ राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिनेछन्। यसमा क्लिनिकल प्रगति, अनुसन्धानका नयाँ जानकारी र नीतिगत दिशानिर्देशबारे छलफल हुने बताइएको छ ।
यस्तै दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुनेछन्। यसमा एनआईएच स्ट्रोक स्केल, स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापी, मौखिक र पोस्टर प्रस्तुतिजस्ता विषयहरू समेटिनेछन्। सम्मेलनको मुख्य उद्देश्य नेपालमा स्ट्रोकको वास्तविक अवस्था प्रस्तुत गर्नु र यससम्बन्धी चासोलाई उजागर गर्नु रहेको डा. पौडेलको भनाइ छ । ‘यो सम्मेलनले नेपालमा स्ट्रोकको ताजा अवस्था, निदान र व्यवस्थापनका लागि भएका प्रयासका विषयमा प्रष्ट पार्नेछ,’ उनले भने, ‘यसैगरी नेपालको सात वटै प्रदेशमा स्ट्रोककको अवस्था र उपचारको पाटोलाई समेत यसले उजागर गर्नेछ ।’
सम्मेलनले ज्ञान आदान–प्रदान, क्षमता विकास तथा सहकार्यपूर्ण कार्यका लागि एउटा महत्वपूर्ण मञ्चको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल स्ट्रोक प्रोजेक्टकी प्रोजेक्ट म्यानेजर एवम् सम्मेलनकी सचिव डा. रचना नकर्मीले बताइन् । यसैगरी, यो सम्मेलनले नेपाल र सम्पूर्ण हिमालय क्षेत्रभित्र स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई सुदृढ बनाउने लक्ष्य राखेको नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले बताए । ‘नेपालको स्ट्रोको यथार्थ चित्र उतार्नका लागि यो सम्मेलन एक कोशढुङ्गा साबित हुनेछ,’ उनले भने ।
Share on Twitter