चुरेको संरक्षण गर्न आवश्यक, मधेशमा जल संकटको प्रमुख कारण नै चुरे विनाश
चुरे क्षेत्रको जथाभावी उत्खनन, कटानी र आगजनीले पानीको रिचार्ज रोकिएको छ र यसले मधेशको सिंचाइ तथा खानेपानी संकट निम्त्याएको छ।
स्थानीय तहहरूले चुरे क्षेत्रका खोलामा बालुवा–गिट्टीको ठेक्का लगाएर डोजरमार्फत जथाभावी उत्खनन गरिरहेको छ, जसले चुरेको सतही जलस्रोत विघटन गरेको छ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा चुरे क्षेत्रबाट बालुवा–गिट्टी निकासी गर्ने नीति ल्याएको छ, जसले संरक्षणमा बाधा पुर्याउनेछ।
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र चरिचरन गर्ने जस्ता कार्य गर्दै आएका छन्, जसका कारण चुरे क्षेत्रबाट पानी तलतिर रिचार्ज हुन पाएको छैन । रिचार्ज हुनका लागि चुरेको संरक्षण अनिवार्य छ ।
भारतीय सिमानादेखि चुरेसम्मको भूभागमा बाढीले पानीको प्रवाहलाई अवरुद्ध गरिदिएको छ । पहिले डुबानका कारण चुरे क्षेत्रको माटो बगाएर तल खेतमा थुप्रिने गर्थ्यो । तल होस् वा माथि, चुरेको संरक्षण सबैको दायित्व हो ।
हाल पानी तराईमा परेको छैन तर सिन्धुली र चुरे क्षेत्रमा भने अलिकति पानी परेको छ । त्यसैले ‘पानी नै परेको छैन’ भन्न मिल्दैन । त्यहाँ परेको पानीलाई तलतिर ल्याउन सके सिंचाइ तथा खानेपानीको समस्या समाधान गर्न सकिन्छ । अहिले देखिएको खानेपानीको हाहाकार अवस्था सधैं रहने होइन । सबै ठाउँमा समस्या पनि छैन । चुरे क्षेत्रको पानी संकलन गरेर तल ल्याउन सकिन्छ । साथै, अर्को विकल्प हो– डीप बोरिङ मार्फत सिंचाइ तथा खानेपानीको प्रबन्ध गर्नु । तर यो निकै खर्चिलो प्रक्रिया भएकाले व्यक्तिको हैसियतले गर्न सकिंदैन । यसमा सरकारको लगानी आवश्यक पर्छ । फेरि, यो तत्कालै हुने काम होइनस ८ देखि १० वर्ष लाग्न सक्छ ।
यद्यपि अहिलेसम्म मधेश प्रदेशमा डीप बोरिङ मार्फत पानी निकालिएको छैन, तर निकाल्ने हो भने तल प्रशस्त पानी छ । चुरे क्षेत्रमा अझै पनि पर्याप्त पानी छ, जुन जलेश्वरसम्म पनि बगेर जान्छ । उदाहरणको लागि, चीनको बेइजिङ वा भारतको राजस्थान जस्ता शहरमा वार्षिक ५–६ सय मिलिमिटर पानी पर्दा पनि व्यवस्थापन गरेर सबै ठाउँमा पानी पुर्याइएको छ । हाम्रो यहाँ त १५००–२००० मिलिमिटर पानी पर्दछ, तर पनि पानीको अभाव छ भने त्यसको प्रमुख कारण व्यवस्थापनको कमी नै हो ।
त्यसैले, चुरेको संरक्षण गर्न आवश्यक छ । चुरेबाट आएको पानी स्वाभाविक रूपमा तलतिर सर्छ, यदि त्यसलाई व्यवस्थापन गरेर संकलन गरियो भने मधेशमा सिंचाइ र खानेपानीको दीर्घकालीन समाधान सम्भव छ ।
सन् १९५४/५५ तिर तराई–मधेशमा मलेरियाको उन्मूलन कार्यक्रम लागू गरियो । मलेरिया नियन्त्रणसँगै पुनर्वास कार्यक्रम पनि शुरू भयो । त्यसबेलामा चितवन,नवलपरासी,हेटौंडा लगायतका वनजंगल फडानी गरेर बस्ती बसाल्ने काम नेपाल सरकारले गर्यो, जुन चुरे क्षेत्रको क्षयको सुरुआत थियो ।
जस्तो हाम्रो शरीरका आँखा,कान,मुटु,टाउको जस्ता अंगहरू संवेदनशील अंगहरू छन् त्यस्तै,चुरे पनि तराई–मधेशका लागि एक अत्यन्त संवेदनशील क्षेत्र हो । तर,यति संवेदनशील क्षेत्रको संरक्षण गर्नुको सट्टा स्थानीय तहहरूले उल्टै डोजर लगाएर जथाभावी चुरेको दोहन गरिरहेका छन्
त्यसपछि करिब ३० वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण गरिंदा पनि जंगल फडानी गरेरै बाटो बनाइयो । त्यसपछि पहाडी जिल्ला तथा अन्य स्थानबाट मानिसहरू सरेर त्यही क्षेत्रमा बस्न थाले । अहिले राजमार्ग वरिपरि ठूल्ठूला बस्ती बनेका छन्,जुन ३० वर्षअघिसम्म थिएनन् ।
चुरे विनाशको अर्को प्रमुख कारण डोजर र क्रसर उद्योग हो । पछिल्ला १०–१५ वर्षमा यस्ता भारी उपकरणहरूले चुरे क्षेत्रमा जथाभावी उत्खनन गरेका छन् । एकै ठाउँमा ५०–५० फिटसम्म गहिरो खनेर बालुवा र गिट्टी निकाल्ने काम भएको छ । उत्खननका लागि तोकिएको मापदण्ड विपरित गतिविधि हुँदा चुरेमा रहेको पानीको सतही तह भाँचिएको छ,जसका कारण पानी जमिनको भित्री भागमा फैलिन सकेको छैन ।
चुरे दोहनको अर्को कारण स्थानीय तहको संरचनात्मक परिवर्तनसँग जोडिएको छ । जबदेखि स्थानीय सरकारहरू गठन भए,तबदेखि खोलामा बालुवा–गिट्टीको ठेक्का लगाउने काम शुरू भयो । ठेकेदारहरूले डोजर लगाएर चुरे क्षेत्रका खोलाहरूमा जथाभावी उत्खनन गरे । यसले चुरे क्षेत्रलाई थप क्षति पुर्यायो ।
चुरे विनाशको मुख्य कारणमध्ये यिनै हुन् डोजर–क्रसर उद्योग, मापदण्ड विपरीत गहिरो उत्खनन, सतही जलस्रोतको विघटन र स्थानीय तह मार्फत ‘अनकन्ट्रोल’ ठेक्का प्रणाली । अन्य कारण जस्तै जथाभावी बाटो बनाउने, आगलागी, चरिचरन वा काठ कटानी यति गम्भीर छैनन्, ती तुलनात्मक रूपमा कम क्षतिकारक छन् ।
चुरे संरक्षित नहुने हो भने तराई–मधेश मरुभूमिमा रूपान्तरण हुन धेरै समय लाग्दैन । चुरेमा पानी पर्नु र जनकपुरधाममा पानी पर्नु फरक कुरा हो । उदाहरणका लागि, यदि जनकपुरमा १,१०० मि।मि। वर्षा हुन्छ भने चुरेमा त्योभन्दा बढी अर्थात् २,००० मि.मि. भन्दा बढी वर्षा हुन्छ । यसको कारण चुरे एक अग्लो डाँडा भएकाले हो । मनसुनको हावा जब चुरेको अग्लो डाँडामा ठोक्किन्छ, तब त्यो माथि उक्लिन्छ र चिसिएर वर्षाको रूपमा तल झर्छ । तर, तराई क्षेत्रमा त्यस्तो भौगोलिक संरचना छैन । त्यहाँ अग्लो भनिने भनेको रूख मात्रै हो, जसले त्यस्तो प्रभाव पार्न सक्दैन ।
यदि चुरेको डाँडा काटियो भने मधेशमा पानीको स्रोत समाप्त हुन्छ । खेतका लागि लालपुर्जा त हातमा हुनेछ, तर खेत नै खोलामा परिणत भइसकेको अवस्था आउनेछ । मधेशलाई जीवन्त राख्न चुरेको अस्तित्व अत्यन्तै आवश्यक छ ।
Share on Twitter