अष्ट्रेलियामा आधिकारीक एनआरएनए–एनसीसीको एकता अधिवेशनको तयारी तीव्र
अष्ट्रेलिया: अष्ट्रेलियामा आधिकारिक एनआरएनए –एनसीसीको एकता अधिवेशन र नया कार्यसमितिको गठन प्रक्रिया अघि बढेको छ । एनआरएनए –आइसीसीको निर्देशन अनुसार ३५ सदस्यीय तयारी समितिको गठन गरी सदस्यता वितरण सुरु भएको एकता अधिवेशनका संयोजक विवेक थापाले जानकारी दिए । संयोजक थापाले समितिमा समुदायका सबै खाले विचार र भावनालाई समेटर समिति गठन गरिएको बताएका छन् ।
सर्बोच्च अदालतको परमादेश अनुसार गत मे महिनाको ३–५ तारिख काठ्माण्डौमा सम्पन्न भएको एकता महाधिवेशनबाट आइसीसी अध्यक्षमा निर्वाचित महेश श्रेष्ठ को समूह नै आधिकारिक एनआरएनएन –आइसीसी भएको बताउदै आइसीसीको लिखित पत्र र निर्देशन अनुसार एकता अधिवेशनको तयारी गरिएको र आइसीसी कै निर्देशन अनुसार सदस्यता वितरण गरी एकता अधिवेशन मार्फत नया कार्यसमिती निर्वाचित हुने संयोजक थापाले बताए ।
एनसीसी अष्ट्रेलियालाई आइसीसी ले पटक पटक पत्राचार गरेर तटस्थ रहन या आइसीसीमा आवद्ध हुन् आग्रह गरिएको भएपनि वेवास्ता गर्दै आएको र आइसीसी को निर्देशन लत्याएको कारण बाध्य भएर आधिकारिक एनसीसी गठनको पहल गर्नु परेको संयोजक थापाको भनाइ छ। समितिको सल्लाहकारमा एनआरएनए –एनसीसी अष्ट्रेलियाका पुर्व अध्यक्षहरु नन्द गुरुङ , केशब कंडेल, सुरेन्द्र सिग्देल र गणेश केसी लगायत रहेका छन् । एनआरएनए –एनसीसी को पंजीकृत सदस्यताको लागि रु १५ र विधार्थीहरुको लागि एसोसिएट सदस्य शुल्क १० राखिएको जनाइएको छ ।
के हो विवाद ?
एनआरएनएन – आइसीसी दशौ महाधिवेशन देखि नै विवादमा रहदै आएको छ। सर्बोच्च अदालतको परमादेश अनुसार मे ३–५ मा सम्पन्न एकता महाधिवेशनबाट विवाद निरुपण हुने अपेक्षा राखिएको थियो। तर त्यसो हुन् सकेन। शुरुमा एक पछि अर्को उच्च देखि सर्बोच्च अदालतमा आधा दर्जन भन्दा बढि मुद्धा दायर गरेर एकता महाधिवेशन रोक्न भरमग्दुर प्रयास गरेका बद्रि केसी समूह अहिले पनि एनआरएनए को सचिवालय कब्जा गरेर गुटबन्दी, विवाद र भ्रम फैलाउन सक्रिय रहदै आएको छ ।
सर्बोच्च अदालतको परमादेश अनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको समुहलाई एनआरएन ऐन २०६३ अनुसार नियामक निकाय परराष्ट्र मन्त्रालयले आधिकारिकता दिइसकेको छ । एनआरएन ऐन २०२६३ ले परराष्ट्र मन्त्रालयमा दर्ता भएको एक मात्र संस्थालाई आधिकारिक एनआरएनए संस्थाको रुपमा मान्यता दिने व्यवस्था गरेको छ। जसानुसार महेश श्रेष्टले नेतृत्व गरेको समूह मात्र आधिकारिक भएको कानुनत स्पष्ट छ ।
एनसीसी अष्ट्रेलियाको विवाद
यसअघि संसारकै उत्कृष्ट र उदारहणीय एनसीसी रहदै आएको एनसीसी अष्ट्रेलिया यसपटक भने विवादै – विवाद को समस्याका जकडिएको छ। एनसीसीका चार जना डाइरेक्टरहरुले प्रेश बिज्ञप्ति नै निकालेर एनसीसीको निर्वाचन प्रक्रिया विधान बिपरित रहेको दावी गर्दै खेद ब्यक्त गरेका छन ।
एनसीसी अष्ट्रेलियाका कोषाध्यक्ष अर्जुन गौतम, एन–एस –डब्लु का कोर्डिनेटर तथा उपाध्यक्ष बिनोद कुँवर, नर्दन टेरोटोरिका कोर्डिनेटर तथा उपाध्यक्ष संजीव गोर्खाली ढकाल र ए–सी–टी क्यानाबेराका कोर्डिनेटर तथा उपाध्यक्ष बिक्रम सुबेदीले सयुक्त बिज्ञप्ति जारी गर्दै बिओंडी ( Board of Director ) र निर्वाचन आयोगले विधान विपरित अपारदर्शी र पक्षपातपूर्ण काम गरेको आरोप लगाएका छन्।
बिज्ञप्तिमा पैसा तिरिसकेका एक हजार भन्दा बढी सदस्यहरुको पंजीकृत सदस्यता पक्षपात पुर्ण भावनाबाट ग्रसित भै रोकिएको आरोप लगाइएको छ। एनआरएनए सामाजिक संस्था भएकोले समाजमुखी र पारदर्शी हुनुपर्नेमा संस्था व्यक्ति मुखी बन्दै गएको र केही व्यक्तिहरुले संस्था कब्जा गरी अपारदर्शी रुपमा आर्थिक हिनामिना गरिएको आरोप समेत लाग्दै आएको छ।
Share on Twitter