सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा
काठमाडौं:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्। विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए ।
“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछ”, उनले भने, “तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ।” भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए।
सीमित जनशक्ति,पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा मन्त्री पौडेलसहित बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले पनि अंगदानको घोषणा समेत गरेका थिए। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंगलाई दान गर्न सकेको खण्डमा एक व्यक्तिबाट ८ जनाले पुर्नजिवन पाउन सक्ने बताए ।
२ मिर्गौला,२ फोक्सो, मुटु, कलेजो,सानो आन्द्रा लगायतका अंग दान गरेको खण्डमा ८ जनाले नयाँ जीवन पाउन सक्ने उनको धारणा थियो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यस्तो पवित्र कार्य गर्नका लागि प्रेरित गर्नका लागि विश्व अंगदान दिवस मनाएको डा श्रेष्ठको भनाई थियो। हालसम्म केन्द्रमा १२ सय ९२ जनाको मिर्गौला तथा २७ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिए । केन्द्रले मिर्गौला प्रत्यारोपणमा ९८ र कलेजो प्रत्यारोपणमा ९३ प्रतिशत सफलता हांसिल गरेको उनको दाबी थियो।
Share on Twitter