बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव
बाँके:बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै र रक्तदान कम भएकाले रगत पु¥याउनै समस्या भइरहेको उनले बताए।
रक्तसञ्चार केन्द्रमा विभिन्नरुपका एक सय ५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात रहेको उनको भनाइ छ । पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित रक्तसञ्चार केन्द्रमा रगत अभाव भएपछि बिरामीहरुलाई समस्या भएको छ । मागअनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपरेको छ।
थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमितरूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ।रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ। नेपालगञ्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा १६ हजार सात सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९/८० मा १८ हजार सात सय ५७ पिन्ट रगत वितरण गरेको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको रक्तसञ्चार केन्द्र जनाएको छ।
Share on Twitter