गर्मीमा स्वस्थ रहन के खाने ?
काठमाडौं:यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ ।
गर्मीबाट बच्ने एउटा सजिलो उपाय भनेको प्रशस्त तरल पदार्थ पिउने र शितल स्थानमा बस्नु नै हो। गर्मीको जोखिममा रहेका परिवारका सदस्य, आफन्त, साथीभाइ तथा छिमेकीको ख्याल गर्नुपर्छ।गर्मीका कारण धेरैजसो मानिसमा कडा टाउको दुख्नुबाहेक चक्कर लाग्ने, बान्ता हुने, पखाला लाग्ने, वाक्वाकी लाग्ने, बेचैनी हुने, उच्च ज्वरो आउने र घबराहट हुने गर्छ ।
गर्मीका कारण देखिन सक्छ यस्ता समस्या :
चर्को घाम वा अत्यधिक गर्मीमा बस्ने जोकोहीलाई पनि मांसपेशी बाउँडिने, थकाइ लाग्ने तथा ‘हिट स्ट्रोक’सम्मको समस्या निम्तिन सक्छ। गर्मीका कारण देखिने यी लक्षणहरूको ख्याल गर्नुपर्छ ः
चक्कर लाग्नु वा बेहोस हुनु
वाकवाकी वा उल्टी हुनु
टाउको दुख्नु
सास फुल्नु र मुटुको धड्कन बढ्नु
अत्यधिक तिर्खा लाग्नु
असामान्य रूपमा गाढा पहेंलो पिसाब हुनु तथा कम पिसाब लाग्नु
बच्चाहरुको व्यवहारमा अकस्मात् परिवर्तन आउनु
‘हिट स्ट्रोक’ एक आपत्कालीन अवस्था हो।
यदि कसैलाई यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्था लैजानु पर्छ :
बेहोस भए
चेत हराए
पसिना रोकिए
गर्मीमा स्वस्थ रहन के खाने ?
काँचो प्याज
गर्मीमा काँचो प्याजको सेवनले शरीरलाई चिसो बनाउन मद्दत गर्छ । प्याजमा पाइने गुणहरूले प्राकृतिक शीतलता प्रदान गर्छ ।
सलाद वा चटनीका रूपमा खान सकिने काँचो प्याजले शरीरलाई निर्जलीकरणबाट बचाउन मद्दत गर्छ ।
सौँफ
गर्मीमा सौँफको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
तपाईं गर्मी स्ट्रोकजस्ता समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ वा यसबाट बच्न चाहनुहुन्छ भने सौँफको सर्बत पिउन सक्नुहुन्छ । सौँफ चपाउन पनि सकिन्छ । आयुर्वेदका अनुसार सौँफमा पाइने गुणले शरीरलाई भित्रबाट शीतल राख्छ र गर्मीको असरलाई कम गर्छ ।
पुदिना
पुदिना एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लामेटरी गुणहरूले भरिपूर्ण छ । गर्मीमा पुदिनाको सेवनले पेटलाई शीतलता प्रदान गर्नुका साथै पाचनसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
दही
दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउन र पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्छ । दहीलाई सुपरफुडमा गनिन्छ । शरीरमा हाइड्रेसन कायम राख्न र गर्मीको लहरको प्रभावलाई कम गर्न यसले मद्दत गर्छ ।
फलफूल र तरकारी
कागती, तरबुजा, हरियो सागसब्जी, कागती आदि खाँदा हाइड्रेसन कायम रहन्छ र पचाउन पनि सजिलो हुन्छ ।
Share on Twitter