निकुञ्ज वार्डेनको ज्यादती : मध्यवर्ती क्षेत्र उपभोक्ता समितिलाई बाइपास, काग्रेसले बुझायो ज्ञापनपत्र
काठमाडौँ :नेपाली काँग्रेस रसुवाले लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वार्डेन अणानाथ बराललाई सात दिनभित्र जिल्लाबाटै हटाउन र विभागीय कारबाही गर्न भन्दै रसुवाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वार्डेन बरालले पदीय मर्यादा विपरित चरम ज्यादती र लापरवाही गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रसुवाको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनीधि खनालसमक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै काँग्रेसले वार्डेन बराललाई सात दिनभित्र जिल्ला छोडाउन र विभागीय कारबाही अगाडि बढाउन माग गरेको हो । जिल्लाबाट यथासिघ्र नहटाएमा काँग्रेसले सशक्त अन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको ११ बुँदे ज्ञापनपत्रमा बरालले रसुवाको महत्वपूर्ण खानेपानी आयोजना नौकुण्ड बृहत खानेपानी योजनाको इआइए प्रक्रिया सहजीकरण नगरी रोकेको, मध्यवर्ती क्षेत्रहरुमा संघ प्रदेश गाउँपालिका र मध्य उपभोक्ता समितिसित विकासका निर्माणका योजनाहरुलाई सरोकारवालाहरुसँग समन्वय गरी आफूखुशी रोक्ने रोकाउने काम गरेको, कर्मचारी वर्गमा अनावश्यक मानसिक तनाव दिई दुव्र्यवहार गरेको, हलुका सवारी चालकलाई जागिरबाट बर्खास्त गरेको, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, ल्याकोस र जनप्रतिनिधिहरुवाट संचालित जिल्ला स्तरिय वन्यजन्तु सम्ताह तथा बाह्रौं रेडपाण्डा ट्रफी कार्यक्रम अवैधानिक भनी नियमविपरित पत्र सार्वजानिक गरेको र मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष र राष्ट्रिय निकुञ्ज प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालित वन्यजन्तु संरक्षण कोषको अक्षय कोषको खाता व्यवस्थापन समितिका अध्यक्षलाई नै कुनै जानकारी नदिइ आफुखुशी खातावाल परिवर्तन गरेको तथा वन्यजन्तु संरक्षणको लागि राखिएको अक्षयकोषको रकम नियम विपरित अपचलन गर्ने मनशाय राखेको आरोप लगाइएको छ । निकुञ्ज क्षेत्रमा वन्युजन्तुबाट पीडित किसानले राहतसमेत नपाएपछि वार्डेनको चर्को विरोध हुँदै आएको छ ।
Share on Twitter