स्रोत सुनिश्चितता पछि मात्र २५९ आधारभुत अस्पताल निर्माण: प्रधानमन्त्री दाहाल
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५९ आधारभुत अस्पतालको स्रोत सुनिश्चितता पछि निर्माण सम्पन्न गर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै २ सय ५९ आधारभुत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित हुन नसकेकाले निर्माणले गति नलिएको बताएका हुन् । ति अस्पतालहरुको आवश्यकता र औचित्य हेरी नियमानुसार स्रोत सुनिश्चितता गरी निर्माण कार्य सम्पन्न गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
उनले एक स्थानीय तहमा एक आधारभुत अस्पताल नीति अनुरुप स्थानीय तहहरुमा निर्माणाधीन ५, १०, १५ शैयाका ३९६ आधारभुत अस्पताल निर्माणका लागि भने स्रोत सुनिश्चित भइसकेको बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५५ वटा आधारभूत अस्पताल बनाउन स्थानीय तहलाई स्वीकृति दिएको छ।
आधारभूत अस्पताल निर्माणका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको सिफारिस आवश्यक पर्छ। जग्गाको लालपूर्जा (पाँच शय्या लागि ५.६ रोपनी तथा १० र १५ शय्याको लागि भने ७.२ रोपनी जग्गा) अनिवार्य रुपमा हुनुपर्छ । त्यसपछि अस्पतालको डीपीआर तयार गरेर मन्त्रालयमा पेस गर्नुपर्छ । यस्तो प्रारम्भिक रिपोर्ट मन्त्रालयले स्वीकृत गरेपछि मात्रै बजेट निकासा हुने मापदण्ड छ।
Share on Twitter