मिराकलमा मिराकल : मिर्गौला प्रत्यारोपण गरिएको ब्यक्तिमा कपाल प्रत्यारोपण
काठमाडौं:काठमाडौंको चुच्चेपाटीमा रहेको मिराकल स्किन, हेयर एन्ड एस्थेटिक क्लिनिकमा मिर्गौला प्रत्यारोपण गरिएको ब्यक्तिमा कपाल प्रत्यारोपण गरिएको छ । काठमाडौंका ४५ बर्षका गोपी बस्नेतमा कपाल प्रत्यारोपण भएको हो ।
डा मोहन भुसालको टोलीले १४ घन्टा लगाएर बस्नेतको कपाल प्रत्यारोपण गरेको हो । बस्नेतको २२–२३ वर्षकै युवा उमेरमा कपाल झर्न सुरु भएको थियो। त्यसपछि उनको एकाएक मिर्गौला फेल भयो। उनले ३१ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
बस्नेत भन्छन्, ’सुरुमा कपाल प्रत्यारोपणका लागि नाम चलेका केही सेन्टरमा गएँ। त्यहाँका चिकित्सक मैले मिर्गौला प्रत्यारोपण गरेको बताएपछि पछाडी हट्नुहुन्थ्यो । मैले डा मोहन भुसालका बारेमा पनि थाहा पाएपछि उहाँसंग सल्लाह गरे आज मेरो सपना साकार भयो ।’
मिराकल स्किन, हेयर एन्ड एस्थेटिक क्लिनिक खोलेको डेढ वर्षमा डा भुषालले ९७ वटाको कपाल प्रत्यारोपण गरिसकेका थिए। ९८औं प्रत्यारोपण नाम अनुसारकै ’मिराकल’ देखाउनुपर्ने चुनौती सहितको आइलागेको थियो। डा. भुषालको टोलीले त्यो चुनौती सहजै रुपमा स्वीकार गरेको थियो ।

डा भुषाल भन्छन्, ’उहाँको कपाल रोप्ने तीव्र इच्छा रहेछ। उहाँको चाहना देखेपछि नाइँ भन्न सकिनँ। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा अरुभन्दा केही सजगता जरुरी हुन्छ । पहिले नै केही जाँच र सम्बन्धित विशेषज्ञको सल्लाह पनि लिनुपर्छ। प्रत्यारोपण गरिरहँदा पनि इमर्जेन्सी ह्यान्डिल गर्न सक्ने तयारी गर्नुपर्छ। हामी त्यसका लागि तयार भयौं। बिरामीको बलियो आत्मबलका कारण सहज भयो।’

प्रत्यारोपणमा डा भुसाललाई डा क्षितिज्मा गिरी र विजया केसीले एनेस्थेसियामा सघाएका थिए। त्यसैगरी मिर्गौला रोग विशेषज्ञ डा सन्तोष क्षेत्री, मुटुरोग विशेषज्ञ डा अभिषेक ठाकुर, छाला तथा यौनरोग विशेषज्ञ डा प्रिया भुषालले आ–आफ्नो तर्फबाट सघाएको डा भुषाल बताउँछन्। नर्सिङ टिममा भने सविना गुरुङ, समीक्षा गौतम र ज्ञानु घले रहेका थिए।
Share on Twitter