स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयो
काठमाडौं:स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।
नयाँ निर्णय अनुसार अब बीमामा आवद्ध भएका व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकका लागि १०० रुपैयाँ लाग्ने छ।
यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो। ’हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट रु २०० र इमरजेन्सी प्याकेज कस्ट रु ४०० रहेकोमा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकोले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क रु ५० र इमरजेन्सी शुल्क रु १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ।
यसअघि ओपीडी र आकस्मिक शुल्कलाई प्याकेज भनेर केही परीक्षणका विषय पनि राखिएको थियो। तर उक्त विषय पूर्ण कार्यान्वयनमा नआएपछि अहिले प्याकेज शुल्क भनेर नभनी ओपीडी र आकस्मिक टिकट शुल्क मात्र भनिएको बोर्डका एक कर्मचारीले जानकारी दिए।
बोर्डले सूचीकृत भएका स्वास्थ्य संस्थामा उपलव्ध नहुने अवस्थामा रिफर सेवा लिन पाइने निर्णय गरेको छ । यस्तै सूचीकृत हुने सामुदायिक, सहकारी, मेडिकल कलेज र निजी अस्पतालहरुले १०० शय्यासम्म भए सातामा १ दिन, २०० सम्मको भए सातामा २ दिन र ३०० शय्या र सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा प्रदान गर्नुपर्नेछ ।
Share on Twitter