लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट ; अर्थमन्त्री डा. महत
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् ।
जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ थियो । ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उहाँले भन्नुभयो, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’
नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्रीको भनाई थियो । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री डा. महतले आग्रह गरे । उनले ‘जलविधुत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’
नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले ‘नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे । मन्त्री डा. महतले भने, ‘नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्छ ।’ उनले नेपाल–भारत व्यवसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
मन्त्री डा. महतले वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Share on Twitter