झलमल राघवपुर
ओखलढुङ्गा : मानेभञ्ज्याङ्ग गाउँपालिका ८ राघवपुर भालुखोलाका रूपक बास्तोलालाई मोबाइल चार्ज गर्न छिमेकी सुनकोसी गाउँपालिका पुग्नुपर्थ्यो । तर अहिले गाउँमै बिजुली आएपछि उनी दङ्ग छन् । अहिले आफ्नै घरमा मोबाइल चार्ज गर्न पाएका छन् ।
मोबाइल मात्र होइन टेलिभिजन हेर्न र खाना पकाउन पनि विद्युतीय सामाग्री प्रयोग गर्न पाएका छन् । उनी भन्छन् ‘पहिले गाउँमा बिजुली नहुँदा त अरूको पालिका जानुपर्थ्यो साह्रै असहज लाग्थ्यो । दिनदिनै अरूको घरमा जाँदा उनीहरूले केही नभने पनि आफैलाई लाज लाग्थ्यो ।’
घरमै बिजुली पाएपछि समयको समेत सदुपयोग गर्न पाएको उनको भनाई छ । ‘मोबाइल चार्ज गर्न जाने समय अहिले अरू काममा लगाउन पाएको छु । पहिले त मोबाइल पनि समय अड्कलेर चलाउनुपर्थ्यो अब त त्यो समस्याबाट मुक्ति पाइएको छ । घरमै टिभी पनि हेर्न पाइएको छ । आजभोलि त खाना पनि राईसकुकरमा पकाउन थालेका छौँ’
रूपक जस्तै मोबाइल, लाइट चार्ज गर्नका लागि अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यति बेला खुसीयालीमा छन् । बिजुली विस्तार नहुँदा यहाँका स्थानीयवासी सिँचाइ, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधाबाट वञ्चित हुँदै आएका थिए। सोही गाउँकी धना दर्जी पनि घरमा बिजुली बलेपछि निकै खुसी भएकी छन् ।
अहिले भान्छाको काम गर्न पनि उनलाई सहज भएको छ ।उनी भन्छिन् ‘पहिले पहिले टुकी बत्तीको उज्यालोमा काम गर्नुपर्थ्यो अहिले त झलल बत्ती बल्छ काम गर्न पनि निकै सजिलो भएको छ ’उनलाई छोराछोरीलाई पढाउन पनि सहज भएको सुनाइन् । ‘साेलार काे बत्ती पुरानाे भएपछी बल्नै छाड्थ्याे । अझ जाडाेकाे समयमा त साेलार चार्ज नै हुन्थेन । मैले त भान्छामा टुकी बाल्थे छाेराछाेरीलाई भने बेटरी हालेर टर्च दिन्थे तर अहिले बिजुलीमा पढ्न पाउँदा केटाकेटी पनि खुसी छन् ’उनले भनिन् ।
बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य राघवपुर गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि अँध्यारो बस्ती उज्यालो भएको हो । २०७९ सालमै वडाका केही ठाउँमा बिजुली पुगे पनि भूगोलका कारण सबै घरमा बिजुली पुग्न सकेको थिएन ।
तर अहिले वडाको सबै घरमा बिजुली पुगेको वडा अध्यक्ष भीम बहादुर बलम्पाखीले बताए । बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवा सुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको बलम्पाखीको भनाइ छ ।
Share on Twitter