आर्थिक अनुशासन कायम गराउन सरकारी निकायलाई महालेखापरीक्षकको १५ बुँदे निर्देशन
काठमाडौं:महालेखापरीक्षकको कार्यालयले आर्थिक अनुशासन कायम गर्न गराउनु सरकारी निकायलाई निर्देशन दिएको छ । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले सरकारी निकायलाई पत्र लेख्दै ऐन नियमको पालना गर्दै खर्च गर्ने गराउने र सो को लेखा ब्यवस्थित रुपमा राख्न भनेका छन् ।
कानुनले तोकिए बमोजिम आर्थिक अनुशासन कायम गर्न गराउनु महालेखापरीक्षकको कार्यालयले पत्रमार्फत १५ बुँदे निर्देशन दिएको हो । संवैधानिक निकाय, सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेशस्थित मन्त्रालय, आयोग, सचिवालय र सबै स्थानीय तहलाई कार्यवाहक महालेखापरीक्षक काफ्लेले बिहीबार उक्त निर्देशन जारी गरेका हुन् ।
गत साउन १० मा स्वीकृत वार्षिक लेखापरीक्षण योजना अनुसार आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भई रहेको उनले जानकारी दिए । वार्षिक प्रतिवेदन पेस गर्नु अगावै बेरुजु शून्य बनाउने काम कर्तव्य र अधिकार लेखा उत्तरदायी अधिकृत र जिम्मेवार पदाधिकारीको नै रहेको कार्यालयले जनाएको छ ।
आगामी माघ मसान्तमा लेखापरीक्षण सम्पन्न गरी चैत्र मसान्तसम्ममा महालेखापरीक्षकको ६१ औ वार्षिक प्रतिवेदन तयार गर्ने कार्य तालिका रहेको पत्रमा उल्लेख छ ।
Share on Twitter