स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारको १० प्रतिशत आफैँले तिर्नुपर्ने
काठमाडौं:स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारमा लागेको कुल खर्चको १० प्रतिशत आफैँले तिर्नुपर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले बिमितले लागत साझेदारी अन्तर्गत सह भुक्तानी (को–पेमेन्ट) गर्नुपर्ने प्रावधान ल्याएपछि उपचारमा लागेको १० प्रतिशित बिरामी पक्षले तिर्नुपर्ने भएको हो । माघ १ गतेदेखि लागु हुनेगरी उक्न व्यवस्था गरिएको बोर्डका निर्देशक डा गुणराज लोहनीले बताए।
बिमितहरुले आफ्नो सुविधा सकाउन अनुचित परीक्षण गराउन अस्पताल र चिकित्सकलाई दबाब दिने गरेको गुनासोपछि बीमा बोर्डले उक्त व्यवस्था ल्याएको हो। आफैंले १० प्रतिशत तिरेपनि बीमा सुविधा भने १ लाख रुपैयाँ बराबरकै हुने उनको भनाइ छ । यो व्यवस्थाले राज्यलाई आर्थिक भार कम पर्ने उनले बताए । बोर्डले निजी अस्पताल तथा मेडिकल कलेजमापनि बीमा कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
‘कोपेमेन्ट लागू भएसँगै आवश्यकता अनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गर्नेछौँ ।’ डा. लोहनीले स्पष्ट पारे । उनका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् ।
विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।
Share on Twitter