मानसिक समस्या भएको कसरी थाहा पाउने ?
काठमाडौं : आज अक्टोवर १० तारिख, विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमापनि विविध सचेतनामुलक कार्यक्रमगरी मनाइदै छ ।
यस वर्षको नारा ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने तय भएको छ ।हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाउने गरिएको छ ।
पछिल्ला वर्षहरुमा मानसिक समस्या विकराल बन्दै गइरहेको छ । प्रविधिको उच्च विकास र व्यस्त जीवनशैलीको कारण पनि यो समस्या बढ्दै गइरहेको विज्ञहरु बताउँछन् । सामान्यदेखि जटिलसम्मको मानसिक समस्या दिनानुदिन बढिरहेको छ ।
विश्वमा नै मानसिक समस्यालाई अझै हेयको दृष्ट्रिकोणले हेरिन्छ । जसको कारण मानसिक रोग लागेकाहरु खुलेर आफ्ना समस्याहरुबारे भन्न डराउने गरेको छन् ।
चिकित्सक र मनोविद्को परामर्श र आवश्यक्ता अनुसारको औषधिले मानसिक समस्या समाधान गर्न सकिन्छ । व्यक्तिअनुसार धेरै प्रकारका मानसिक समस्याका लक्षण हुनसक्छन्।
तीमध्ये केही लक्षणहरु यस प्रकार छन्:
मनमा उदासीपना
मनमा सधैँ उदासीपन भएमा मानसिक रोगको लक्षण भएको बुझ्नुपर्दछ । उदासीपनले मानिसको मनमा नकारात्मक असर पार्छ । जसको कारण दैनिकीमा समेत असर पर्छ ।
बिर्सिने बानी
कुनै कुरा सम्झिन सक्ने क्षमतामा निरन्तर ह्रास आएमा त्यो पनि मानसिक रोगको लक्षण हो
मन आत्तिनु, ढुकढुक हुनु
कुनै नराम्रो कुरा वा परिस्थितीमा मन आत्तिनुलाई स्वभाविक मानिन्छ । तर बिना कारण मन आत्तिने समस्या भइरहेमा त्यसले पछि गएर मानसिक रोगको कारण बन्छ । निरन्तर मन आत्तिने समस्याले बिस्तारै आत्मबल घट्दै जाने, मनमा शंकाहरु बढ्दै जाने गर्दछ ।
चिडचिडाहट हुनु
हरेक समय छटपट भइरहेमा त्यसले मानसिक समस्या निम्त्याउँछ । परिस्थिती सामान्य भए पनि व्यक्तिलाई उक्त परिस्थिती असामान्य लाग्न थालेमा त्यसले विस्तारै मानसिक समस्याको बाटोमा ल्याउँछ ।
शंका लाग्नु र तुलनामा गर्ने बानी हुनु
मानसिक समस्याको मुख्य कारण भनेको हरेक कुरामा शंका लाग्नु हो । यदी मनमा धेरै मात्रामा शंका पैदा भएमा त्यसले मानसिक रोगको रुप लिन्छ । शंकाले लंका जलाउँछ भनेझै साना साना कुरामा शंका लागेमा घरपरिवार, साथीभाइ र समाजसँगको सम्बन्ध बिग्रँदै जान्छ जसले गर्दा उ आफू एक्लिएको महसुस गर्दछ ।
कानमा आवाजहरु आउनु
कानमा अनेकौ आवाजहरु ब्जेजस्तो महसुस पनि हुनसक्छ । यस्तो बेला सचेत रहनुपर्छ
असामान्य कुराहरु देख्ने
मानिसले कल्पना गरेका कुराहरु आँखालेनै देखेजस्तो गर्नु पनि मानसिक समस्या हो ।
यो रोग पनि अरु रोग जस्तै औषधिले निको हुन्छ। अलि अलि सामान्य तनाव सबैलाई हुन्छ। तर यसले हाम्रो दैनिक रुटिङलाई हानी गर्न थाल्यो भने यसलाई रोग भनिन्छ। यसलाई समयमै उपचार गरियो भने यो निको पनि हुन्छ।
अर्को भ्रम काम गर्न सक्दैन भन्ने छ। यो पनि होइन। यो रोग भएकाहरूले औषधि खाएर काम गर्न सक्छ्न्। आफ्नो दैनिक जीवन जिउन सक्छन्। जतिसक्दो छिटो उपचार गर्यो भने यो रोगले केही बाधा पुर्याउँदैन।
मानसिक समस्या हुनबाट बच्ने उपायहरु
१. आफ्नो बारेमा अरुसँग खुलेर कुरा गर्ने
२. राम्रोसँग सुत्ने
३. स्वस्थ खानपिन
४. दैनिक शारीरिक कसरत गर्ने
५. काममा व्यस्त हुनु
६. अनावश्यक तनाव नलिने
७. राम्रो साथीहरुसँग मात्र संगत गर्ने
८. मादकपदार्थ र लागुऔषधको सेवन नगर्ने
९. लगातार स्वास्थ परीक्षण गर्ने
१०. मानसिक रोग भएका बिरामीहरुले पनि अरु रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचापको औषधि लगातार सेवन गर्ने र घरमा राख्न नसक्ने अवस्थामा मानसिक पुर्नस्थापना केन्द्रमा भर्ना गरेर पुरा उपचार गराउने गर्नुपर्छ।
Share on Twitter