एक किलो सुन प्रकरणको अनुसन्धान काभ्रेका कांग्रेस नेतातर्फ
काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धान काभ्रेका कांग्रेस नेतातर्फ मोडिएको छ । अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।
विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो । सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।
उनीहरुको बयानबाट यसमा काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलले पनि सुन प्रकरणमा लामाको खोजी भइरहेको अनलाइनखबरसँग पुष्टि गरेका छन् । स्रोतका अनुसार, जगत र दोर्जेले सुन रिसिभ गर्न समेत विकासकै बागमती प्रदेश ०१ २७ प। च ९९६० नम्बरको गाडी लिएर गएका थिए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुुसार, जगतले सुन आफ्नै भएको बताए पनि सम्पर्क विवरण र गाडीबाट यसमा विकासको पनि संलग्नता खुलेको थियो ।
हाल प्रहरी विकासको खोजीमा जुटेको छ । विकासलाई ६ कात्तिक २०७९ मा सत्तारुढ नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा मनोनित गरेका थिए । प्रहरीका अनुसार, विकास बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा निकट व्यक्ति हुन् । उनकै जोडबलमा विकास गएको चुनावमा प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।
Share on Twitter