एक महिनाभित्रै वीरमा टोमोथेरापी सेवा
काठमाडौं : वीर अस्पतालमा आएको टोमोथेरापी मेसिन एक महिनाभित्र संचालन गर्ने तयारी भएको छ । सोमबार राती आएको मेसिन जडाको काम सकिएपछि संचालनमा ल्याउने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
वीर अस्पतालमा यसअघि नै उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी भएको थियो। अस्पतालमा उक्त मेसिन जडानका लागि स्थान नहुँदा खरिद गरेर ल्याइएको मेसिन लामो समय सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्र नै थन्किएको थियो। लामो समय चौरमा थन्किएको मेसिनमा कन्टेनरबाट पानी चुहिँदा बिग्रिएको थियो।
मेसिन खोल्दै नखोली बिग्रिएपछि अस्पतालले उक्त मेसिनको सट्टा अर्को मेसिन पठाउन कम्पनीलाई आग्रह गरेको थियो। सोही अनुसार कम्पनीले वीर अस्पतालमा उक्त बिग्रिएको उपकरण फिर्ता लगेर नयाँ मेसिन ल्याइदिएको हो।
मेसिन सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालीले वीर अस्पतालले मेसिन राख्न तयार पारेको स्थानमा मेसिन ल्याएर जडानको काम गरिरहेको छ। उक्त मेसिन अकुरे कम्पनीले उत्पादन गरेको हो। क्यान्सर रोग विशेषज्ञहरुका अनुसार टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ।
हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ । यो प्रविधिले क्यान्सरका विरामीलाई लाभ मिल्ने डा. बस्नेतले बताए । दैनीक ६० जनालाई सेवा दिन सकिने बताइएको छ । वीर अस्पतालले करिब ४० करोड लागतमा टोमोथेरापी मेसिन किनेको हो।
Share on Twitter