एक ढिक्का नेपाली कांग्रेस
नेपाली कांग्रेसले सांगठनिक सृदृढिकरणको ‘विशेष आन्तरिक अभियान’ सुरु गरेको छ । पार्टीलाई मजबुत बनाउने गरी यो अभियान देशव्यापी रुपमा सुरु भइसकेको छ । केन्द्रीय समितिका साथिहरु आफुले जिम्मेवारी पाएको ठाँउमा खटिनुभएको छ ।
यो अभियानले कांग्रेसलाई जगाएर नयाँ सिराबाट अगाडी बढाउने छ भन्ने हाम्रो अपेक्षा छ । पार्टीको सबै संरचनालाई पूर्णता दिन केन्द्रीय सदस्यहरु क्रियाशील हुनुहुने छ ।
जिल्ला जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले वडा तहदेखिकै रिर्पोटिङ गर्नुहुने छ । पार्टी संरचनामा पूर्णता दिन लगाउने, बैठक बसाल्ने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको भए रिपोर्ट दिन लगाउने केन्द्रीय सदस्यहरुको जिम्मेवारीमा पर्छ । कार्यदेशमा केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । जिल्लामा भ्रातृसंस्था, शुभेच्छुक संस्था, विभाग सबै पूर्णता दिन लगाउने काम गर्नेछन् ।
साथै, अभियानका कार्यक्रममा नयाँ क्रियाशील सदस्य वितरण, नवीकरण, अनलाइन प्रणालीबारे जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ । यसले गर्दा पार्टी संरचनाले पूर्णता पाउने छ भने पार्टीको गति पनि बढ्ने छ । अहिले जुन किसिमले पार्टीलाई कमजोर बनाउने र पार्टीभित्र फुट छ भनेर जनतालाई भ्रममा राखिरहेका छन् ।
मलाई लाग्छ यो अभियानले कांग्रेस एक ढिक्का छ भन्ने सन्देश दिनेछ । हुन त हामी सधै एक ढिक्का छौँ तर पनि हामीलाई कमजोर देउखाउन खोज्नेहरु पक्कै पछि हट्नेछन् भन्ने हो । राजनीति भनेको समाज सेवा हो तर पदमा बसेर काम गर्ने सबैकाे इच्छा हुन्छ । जिम्मेवारी लिन खोज्ने दौडमा जो पनि भाग लिन पाउछ । अझै नेपाली कांग्रेस भनेको त लोकतान्त्रिक पार्टी हो । आन्तरिक लोकतन्त्र प्रतिष्पर्धाबाट झनै बलियो हुन पुग्छ त्यसलाई देखाएर पार्टी एकजुट छैन भन्न खोज्नु गलत हो ।
यो त लोकतन्त्रको सुन्दर अभ्यास हो । हामीलाई कमजोर बनाउनेहरुसँग हामी एक ढिक्का भएर सधैँ लागेकै थियौँ र आगामी दिनमा पनि लाग्नेछौँ । नेपाली कांग्रेस २००७ सालदेखि नै हरेक परिस्थितिमा जुध्दै आएको पार्टी हो । २००७ सालको क्रान्ती होस् या २०३६ सालको वा ४६ साल अथवा २०६२र६३ को जनआन्दोलन, हरेक आन्दोलनमा नेपाली कांग्रेसले अग्रणी भूमिका खेलेको कुरा सर्वविदितै छ ।
अर्को कुरा नेपाली कांग्रेस हुँदैनथ्यो भने नेपालको संविधान पनि आउँदैनथ्यो । नेपाली कांग्रेसकै अग्रसरतामा कांग्रेसका नेता स्वर्गीय शुशिल कोइरालाको पालामा संविधान आएको हो । आजका दिनसम्म आइपुग्दा नेपाली कांग्रेसले राणाको गोली खाएन कि पञ्चायतको बुट र लात खाएन कि ? जेल नेल खाएर अघि बढ्दै गर्दा २०६२र६३ भन्दा अघि माओवादीको सशस्त्र युद्धका बेला आफ्नो जीवन रक्षाका लागि धेरै संघर्ष गर्नुपरेको थियो ।
यी सबै कुराले त नेपाली कांग्रेसलाई सिध्याउन सकेन भने अब झन नेपाली कांग्रेस अझ बलियो बनेको अवस्था छ । पछि आएकाहरु त कांग्रेसबाटै जन्मिएका हुन् । उनिहरुले विभिन्न लाल्छना लगाएर वा आधारहीन गाली गर्दैमा हामी सकिने भन्ने हुँदैन ।
कांग्रेसको अबको बाटो
नेपाली कांग्रेसको अबको बाटो भनेको अर्थतन्त्र उकास्ने नै हो । राजनीतिक परिवर्तन गर्न हामीले लामो समय लगायौँ र परिवर्तन पनि गर्न सफल भयौँ । अबको बाटो भनेको प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशलाई आर्थिक रुपमा पनि बलियो बनाउने हो । उत्पादनमुखि अर्थतन्त्र नै कांग्रेसको अबको ध्येय हुने छ ।
स्वदेशमै रोजगारी स्थापना गर्ने गरी कांग्रेस अघि बढ्दै छ । कांग्रेसकै नेतृत्वमा जनताले महसुस गर्नेगरी देशले फड्को मार्ने छ । हुन त हिजोका दिनमा पनि कामै नभएको भने होइन । तर पनि अहिले कांग्रेसमाथि प्रश्न भने छ ।
२०४६ पछि नेपाली कांग्रेस कतिपटक सत्तामा पुग्यो र के के काम भए भनेर हेर्नुपर्यो । २०४६ अघि कतिवटा अस्पताल थिए रु अस्पतालका सेवा कस्तो थियो रु शिक्षाका कुरा गर्दा हिजोका विद्यालय कस्ता थिए ? सडक कस्ता थिए, आज के भयो ? महिला अधिकारको विषय वा दलितकै विषय वा हलिया कमैयाको कुरा जुनसुकै कुरा गर्दा पनि हिजो के थियो ? आजको अवस्था कस्तो छ भन्ने कुरा हेरौँ ।
यी सबैकुरा एकै पटक आएका त पक्कै होइन होला यी सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको होइन रु २०४६ पछि आएका सबै राजनीतिक दलहरुले आ-आफ्नो ठाउँबाट काम गरेका छन् । तर नेपाली जनताको चाहाना के छ भने निकै चाडो विकास होस्, चाँडो मैले उपभोग गर्न पाउँ, चाँडो मेरो बाल बच्चा विदेश जान नपरोस् यही रोजगारी सिर्जना होस् भन्ने छ ।
त्यो फेरि स्वभाविक पनि हो । तर हाम्रो देशसँग भएको पुँजिले सबै चाहाना पुरा गर्न नसक्ने भएकाले जनताको अपेक्षा पुरा हुन नसकेको हो । हामी परनिर्भर छौँ धेरै आयातमा भर परेकाले पनि देश विकसित हुन समय लागेको हो । अर्को कुरा विभिन्न काल खण्डमा भएकाले राजनीतिक उतार चडापलेपनि हामी अघि बढ्न सकेनौँ ।
हिजोका दिनसम्म हामी सशस्त्र द्वन्द्वमा थियौँ १० वर्षको कार्यकाल हामीले त्यत्तिकै बितायौँ । अब त्यो समय त फर्केर आउँदैन कति विकास हुन्थ्यो होला । त्यतिबेला पनि कांग्रेसले शान्ति प्रक्रियाको नेतृत्व नलिएको भए आजका दिन सम्म पनि हामी द्वन्द्वमै हुन्थ्यौँ होला । नेपाली कांग्रेसको नेतृत्वमा शान्तिप्रकिया सुरु भयो र त्यो सफल पनि भयो ।
त्यसपछि अनवरत रुपमा कामहरु भएको छ । अहिले गाँउ गाउँमा घर-घरमा सडकहरु पुगेको छ । तर हामी यत्तिले पुग्दैन राजनीतिक परिवर्तन भएको छ तर अब अर्थतन्त्र उकास्न हामी एकजुट हुनुको विकल्प छैन ।
हामी अहिले पनि दुई चार कुरामा सम्पन्न छौँ । प्रमुख त जलविद्युत नै । अहिले यति धेरै विजुली उत्पादन भइरहेको छ तर त्यसलाई वितरण गर्न सकिरहेका छैनौँ । उत्पादन भएको विजुली प्रसारण लाइन दिन नसक्दा हामी अहिले अलपत्र अवस्थामा छौँ त्यो पनि देशको अर्थतन्त्रमा घाटा हो । तीन चार वर्ष त कोरोनाका कारणले गर्दा देशको अर्थतन्त्र डामाडोल भएको थियो ।
अहिले पनि त्यसको असर कायमै छ । त्यही असरले गर्दा पनि हाम्रा युवाहरू रोजगारी कालागि बिदेसिनु परेको छ । अहिलेको अवस्थामा नेपालमा मात्र होइन विश्वभर नै आर्थिक सङ्कट देखा परेको छ । सबै कुरा बाहिरबाट किनेर खाने हाम्रो जस्तो मुलुकमा धेरै सुधारको आवश्यकता छ । अब उत्पादनलाई जोड दिनुपर्छ । नेपाली कांग्रेसले अब त्यसको नेतृत्व लिँदै छ ।
सुख दुखमा कांग्रेस
Share on Twitter