एक गाग्री पानी लिन एक घण्टा उकालो
ओखलढुंगा: ओखलढुंगाको मानेभञ्ज्याङ ८ छापा गाउँमा वर्षौँ देखि खानेपानीको समस्या छ । एक गाग्री पानी लिन एक घण्टा उकालो चढ्नुपर्ने बाध्यता छ । एक गाग्री पानी लिन हरेक दिन उकालो–ओरालो झर्नुपर्ने बाध्यताका कारण उनीहरूको बिहानभरको समय त्यतै बित्ने गरेको छ ।
२०७२ सालको भूकम्पले खानेपानीको मुहान सुके देखि मानेभञ्ज्याङ ८ छापा गाउँ राई टोलका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका हुन् । भूकम्पले पहिरो जाँदा बोजेको पानीको मुहान सुके पछि स्थानीयले खानेपानीको सास्ती भोग्नुपरेको स्थानीय दल बहादुर राईले बताए । वर्षाको समयमा समेत बस्तीका ९ घरधुरीले २ घण्टा हिँडेर चिउरेटीको पानी बोकेर खाने गरेका छन् ।

हिउँदको समयमा भने ४५/४६ घरधुरीले नै समस्या भोग्नुपरेको राईको भनाइ छ । उनी भन्छन्,’पानी नहुँदा बालबालिकाले नुहाउन पाएका छैनन्, पानी नभएपछि सरसफाइमा पनि समस्या भएको छ ।’
गाउँमा पानीको पीडा भोग्दै आएका यहाँका धेरै बासिन्दाको दैनिक गुजाराका लागि पानीकै समस्या छ । वर्षौदेखि डोकोमा गाग्री राखेर पानी बोक्दाबोक्दै कति नाम्लोका डोरी चुडिए, कति डोका फाटे तर पानी सहज हुनसकेको छैन । स्थानीय सरकारले आश्वासन मात्रै दिएको उनीहरूको दुखेसो छ ।
दल बहादुर राई भन्छन् ‘गत वर्ष नै गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली लगायतको टोलीले चिउरेटीको पानी बस्तीसम्म ल्याउन खानेपानी आयोजनाको सर्वे गरेको थियो अध्यक्षले त गएको दसैँमा नै पानी ल्याइदिने भन्नुभएको थियो खोइ अहिले सम्म पानी आएन हाम्रो अवस्था उस्तै छ । गाउँवासीले पानी लिन एक घण्टा ठाडो उकालो हिँड्नुपरेकै छ ’
यता गाउँपालिका अध्यक्ष रुम्दालीले भने छापा गाउँमा खानेपानीको व्यवस्था गर्न आफू निरन्तर लागेको बताए । चिउरेटी देखी छापा गाउँसम्म खानेपानी विस्तार गर्न गरिएको सर्वेले लागत धेरै तर प्रतिफल निकै कम देखाएको उनले बताए ।
उनले भने ‘सर्वे गर्दा हामीले के देख्यौ भने त्यो योजनामा लागत मात्रै धेरै लाग्ने तर चिउरेटी मुहानको पानीले १६ एमएमको पाइप पनि भरिने देखिएन त्यसैले हामीले त्यहाँबाट पानी ल्याउन सकेनौँ’ खानेपानीको समस्या समाधानकालागि वैकल्पिक उपाय बारे पनि गाउँपालिकामा छलफल भइरहेको उनले सुनाए । बालेथाममा लिफ्टिङ गरिएको वा अन्य स्रोतबाट छापा गाउँ बस्तीलाई पानीको व्यवस्था गरिने अध्यक्ष राईको भनाई छ ।
Share on Twitter