आईटी जनशक्तिलाई देशभित्रै सम्मानजनक काम गर्ने वातावरण बनाउँछौंः मन्त्री शर्मा
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकास र प्रयोगलाई राष्ट्रिय महत्वको क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएकी छन् ।
काठमाडौंस्थित सफ्टवेरिका कलेजले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी कार्यक्रको उद्घाटन गर्दै यो क्षेत्रका दक्ष जनशक्तिलाई नेपालभित्रै टिकाउन सक्दो पहल गर्ने बताएकी हुन् ।
‘पछिल्लो समय नयाँ पुस्तामा सूचना प्रविधिको क्षेत्रमा आशालाग्दो गरी आकर्षण बढिरहेको छ । तर, दक्ष जनशक्तिलाई नेपालभित्रै टिकाउन सकिएको छैन’– उनले भनिन् – ‘सूचना प्रविधिको दक्ष जनशक्तिलाई सरकारी सेवामा भित्र्याउन र उनीहरुलाई कसरी टिकाउन सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौं । संघीय कर्मचारी ऐनमार्फत सूचना प्रविधि क्षेत्रलाई छुट्टै सेवा समूहको रुपमा विकास गर्नेदेखि सूचना प्रविधि क्षेत्रका विज्ञहरुलाई सम्मानजकरुपमा पारिश्रमिक दिएर देशभित्रै योगदान गर्ने वातावरण बनाउन सरकार लागिरहेको छ ।’
त्यस्तो जनशक्तिलाई वृत्ति विकासका हिसाबले अन्य निजामति सरह तथा पारिश्रमिक दक्षता र विज्ञताका आधारमा दिने गरी ‘हाइब्रिड’ मोडल लागु गर्ने सोंच रहेको जानकारी दिइन । विज्ञान प्रविधिको क्षेत्रमा हुने कुनै पनि विकासको अन्तिम उद्देश्य मानव सुरक्षा र मानवीय हित भएकाले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
Share on Twitter