वीरमा थपियो भीआईपी र भीभीआईपी कक्ष
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले देशको स्वास्थ्य सेवा सुधार गर्न सक्रिय भएर लागेका छन् । स्वदेसमै गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ भन्ने हेतुले सबै स्वास्थ्य संस्थालाई नागरिक स्तरबाट कुनै गुनासो नआउनेगरी काम गर्न निर्देशन दिएका छन् ।
निर्देशनमात्र होइन निर्देशन पालना भए–नभएको आफै निरिक्षणमा निस्कने गरेका छन् । यो मात्र होइन विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका नाममा विदेशीने करोडौ रुपैँया जोगाउन उनले पहल थालेका छन् । सोही अनुरुप काठमाडौंको वीर अस्पतालमा विशिष्ठ तथा अति विशिष्ट व्यक्तिहरुको उपचारकमा लागि भीआईपी तथा भीभीआईपी कक्षहरु थप भएको छ ।
अस्पतालमा आज देखि थप थप दुईवटा भीआईंपी र एउटा भीभीआईपी कक्ष थप भएको हो । यसअघि त्यहाँ एक एक वटा भीआईपी र भीभीआईपी कक्ष थियो । यद्धपी ती कक्षहरु लगभग खाली रहने गर्दथ्यो ।
मन्त्री बस्नेतले विशिष्ट व्यक्तिहरुको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।
वीर अस्पतालमा नभएको सेवा वा देशमा सम्भव नभए मात्र विदेश जाने नीति लिने बताइएको छ । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा १५ सदस्यीय भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समिति समेत गठन गरेका छन् ।
समितिमा केही सरकारी अस्पतालमा कार्यरत, केही सरकारी अस्पतालबाट अवकाश लिएका र केही निजी अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सक राखिएको छ । प्रा डा बस्नेतको संयोजकत्वमा गठित समितिको सदस्यमा डा किरण श्रेष्ठ, डा ध्रुब गैरे, डा. रविराम श्रेष्ठ रहेका छन् ।
यस्तै प्राडा शैली प्रधान, प्रा डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी, प्राडा. सुभाष आचार्य, र डा सुन्दुक रुइत रहेका छन् । यस्तै प्राडा. शशी शर्मा, प्राडा. रत्नमणि गजुरेल, प्रा डा. भोला रिजाल, प्रा डा. मनबहादुर केसी र डा. रमेश चोखानी रहेका छन् । यो समितिले उपचारका क्रममा आवश्यकता अनुसार थप विशेषज्ञ चिकित्सकको पनि सहयोग लिन सक्ने बताइएको छ ।
Share on Twitter