स्वास्थ्य सेवामा पुहँच बढाउन प्रविधिको प्रयोग आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा काठमाडौमा भएको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवामा पहुँच बढाउन प्रविधिलाई भरपुर प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
बेलायतबाट भर्चुअल रुपमा जोडिएका मन्त्री बस्नेतले ७३ प्रतिसत परिवारमा मोवाइल सेवा र ३८ प्रतिसत परिवारमा इन्टरनेट पुगिसकेको दाबी गरे । ५५ प्रतिसत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहूँच पुगेको तथ्यांक प्रस्तुत गर्दै सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहूँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने मन्त्री बस्नेतले बताए ।
सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृदि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृदिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनु पर्नेमा जोड दिदै एकद्वार प्रणाली पूर्ण रुपमा लागु भइनसेकाले मन्त्रालयका महासाखा पिच्छे फरक फरक तथ्यांक आउने समस्या रहेको बताए ।
सल्लाहकार खड्काले सूचना प्रविधिको प्रयोगले जनतालाई दुख दिने काम भन्दा कसरी सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सल्लाह दिए । स्वास्थ्य सेवामा सूचना प्रविधिको पहूँच बढाउन स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार नीति, नियम र निर्देशिका बनाइसकेको जानकारी दिदै खड्काले ती नीति नियमलाई परिमार्जन गरि कार्यन्वयनमा लौजानु पर्ने आवश्यकतामा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहूँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतिको सामना गर्न सकिने दावी गर्दै स्वास्थ्य मन्त्रालयले यसका विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महासाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर बर्षै भरि डिजिटल स्वास्थ्य दिवस मनाउनु पर्ने आवश्यकता रहेको बताए ।
Share on Twitter