भोकेशनल कोर्स गर्दैमा निराश हुनुपर्दैन
अस्ट्रेलिया अहिले नेपाली विद्यार्थीहरुकालागि आकर्षक गन्तव्य बनेको छ । धेरै विद्यार्थीहरूले अध्ययनसँगै जीवनस्तर पनि उकासेका छन् । कतिपयले भने अस्ट्रेलिया पुगे पनि यहाँको अवस्था र अवसर बुझ्न नसक्दा सोचे अनुसारको लाभ उठाउन सकेका छैनन् ।
मास्टर डिग्री अध्ययन गर्दैमा मात्र भविष्य राम्रो हुने आम बुझाइ छ । तर भोकेशनल कोर्स गर्दा पनि अवसर पाउन सकिने निकै कमलाई जानकारी छ । अस्ट्रेलियामा भोकेशनल कोर्स अध्ययन गर्दा पनि दीर्घ कालमा राम्रो भविष्य बनाउन सक्छन् ।
तर करियर प्लान बनाउँदा भने निकै ध्यान दिन जरुरी छ । विद्यार्थीहरूले आफ्नो करियरलाई कत्तिको गम्भिरताकासाथ लिएका छन् भन्ने कुराले उनीहरूको भविष्य निर्धारण गर्छ । आफूले अध्ययन गर्ने विषय छनौट, त्यसका चुनौती , त्यो विषयले सिर्जना गर्ने अवसर , र आफूले अध्ययन गर्ने विषयको लगाव सफल हुने मापदण्ड हुन् । सबै डाक्टर, इन्जिनियर, आइटी प्रोफेसनल, वकिल , नर्स बन्नै पर्छ भन्ने पनि छैन ।
समाज त्यो चिन्तनबाट बाहिरिइसकेको छ । ती विषयहरू सबैले पढ्न सक्छन् । ट्रेड पेसा मा पनि दक्ष हुन सक्यो भने उसको भविष्य उज्ज्वल छ । त्यसका यथेष्ट प्रमाण हामी माझ छ । तर नियमित कक्षा लिएर कोर्स पुरा भने गर्नुपर्छ । कतिपय नेटिभ अङ्ग्रेजी बोल्ने देशहरूबाट आएका विद्यार्थीहरूलाई डाइरेक्ट स्नातक र स्नातकोत्तर अध्ययन गर्न समस्या हुन सक्छ ।
यस्तै मध्यम आए भएका देशहरूबाट पुगेका विद्यार्थीलाई सुरुवातमै विश्वविद्यालयमा भर्ना हुन आर्थिक समस्या हुन सक्छ । अर्को कुरा तेस्रो मुलुकबाट अस्ट्रेलिया आउने विद्यार्थीलाई यहाँको शिक्षा कठिन पनि हुन सक्छ । उनीहरू दोधारमा पर्न सक्ने धेरै सम्भावना छ । यस्ता धेरै उदाहरण पनि छन् । त्यसैले भोकेशनल कोर्स उपलब्धिमूलक र व्यवहारिक हुनसक्छ ।
सन् १९९६ मा म अस्ट्रेलिया आउँदा भोकेशनल कोर्स बाट नै विद्यार्थी यात्रा सुरु गरेको हुँ । कतिपयलाई भोकेशनल कोर्सप्रति अविश्वास पनि होला तर यहाँको सरकारले तय गरेको मापदण्ड पुरा गरी स्वीकृति लिएका संस्थाहरूमा गुणस्तरीय सिकाइ हुनेमा म ढुक्क छु । यदि विश्वसनीय र गुणस्तरीय सिकाइ भएन भने स–प्रमाण सम्बन्धित निकायमा उजुरी गर्न पनि सकिन्छ । त्यसैले भोकेशनल कोर्स गर्दैमा निराश हुनुपर्ने अवस्था छैन ।
(विवेक थापा ओपल कन्सल्टेन्सीका सञ्चालक हुन , उनी हाल अस्ट्रेलियामा बसेर माइग्रेसन सम्बन्धी परामर्श दिँदै आएका छन् )
Share on Twitter